Thursday, November 14, 2013

किताब, जीबन र मेरो अतित

किताब, जीबन र मेरो अतित
......................................
-By Anuz Kulung

किताबसंग मेरो साइनो कति समय देखि भयो । त्यो त मलाई थाहा छैन । जीबनको २३ औ बसन्त पार भईसक्यो । त्यो समय गज्जबले ठिम्याउन सक्दिन । ४ देखि ५ बर्षको छदा मैले मेरो घरमा कालो न कालो धुलो लागेको किताब देखेको संझना छ । उबेला मेरो आमा प्रौढ शिक्षा पढ्नुहुन्थ्यो । हल्का संझना छ । किताबमा केहि क, ख, ग घ हुन्थे । केहि शब्दहरु हुन्थे । केहि बाक्यहरुको गृहकार्यहरु गर्नुपर्ने जस्ता देखिन्थे । ठुल ठुला कार्टुनका तस्बीर अनि संसंगै बोलेका संवादहरुहरु ति कार्टुनहरुको मुखमा, टाउकामा बाक्यका पोको पारिएर देखाइएका हुन्थे ।

मेरो बुबा पाँच क्लास पढ्नुभएको । त्यति खेरको पाँच क्लास भनेको करिब करिब गाउँको तमसुक लेख्ने देखि लिएर निवेदनहरु, चिठीहरु आइएबिए पढेको भन्दा नि उच्च स्तरको लेख्नुहुन्थ्यो । मलाई अहिले यस्तो लाग्छ कि मेरो बुबा साहित्यमा पनि उत्तिकै रुचि थियो जस्तो लाग्छ । गीत संगीतमा त उहाँ अत्यन्तै रुचि राख्नुहुन्थ्यो । कुनै ब्यक्तिको बिहे भो भने मेरो बुबाले खुबै रमाइलो गर्नुहुन्थ्यो । गीत गाएर । नाँचेर । उहाँको चाहना छोरालाई पढाउने । जे जसरी हुन्छ छोरालाई निकै माथिसम्म पढाउने । त्यो समयमा मलाई खुबै पढाउनुभो । उहाँ जब घरमा डोको बुन्न थाल्नुहुन्थ्यो । म छेउमा बसेर दुई घुँडा टेकाएर घोप्टो परी घोक्नुपथ्र्यो । लेख्नुपथ्र्यो । क, ख, ग घ भन्दै । लेख्न आएन भने छेउमा रहेको सिर्कुना भाचिन्जेल खानुपथ्र्यो नमिठो कुटाई । खुबै दुखाई हुन्थ्यो । सिर्कुना भाचिन्थ्यो । खुट्टामा कुटेर, हातमा कुटेर, ज्यानमा कुटेर ।

एक दिन म अगेना छेउमा बसिरहेको थिए । बुबा घरको रेडियो हातमा लिएर सिरानी नेर अँगेनाछेउ आगो ताप्दै रेडियो नेपालको ३ चोटी तुत् तुत् बजेको आवाजपछिको समाचार सुन्दै हुनुहुन्थ्यो । समाचार पनि सकियो । त्यसपछि केहि बेरमा “घटना र बिचार” नामक अर्को समाचार मुलक कार्यक्रम आयो । त्यो केहि छिन् सुन्दैहुनुहुन्थ्यो । कापी कलम ल्याएर छेउमा बस्ने आदेश आइहाल्यो । म अल्छि लाग्दो पाराले उठे । छेउमा भएको आगु फुक्ने फलामे सोठे पछाडी छेपारीमा बर्सिहाल्यो । मेरो दिमाक उतिखेरै चिङ् चिङ् भइगो । छेउमा तुरुन्तै गएर लेखपढ गर्न सुरु गरिहाले । उहाँले चुडामणि गौतमद्धारा लिखित अंग्रेजी पुस्तक छेउमा राखेर पल्टाउन थाल्नुभयो । उहाँले पल्टाएका पानामा त्यहाँ फरक फरक खालले लेखिएका ए बि सि डी हरु हुन्थे । त्यो बेला देखि मेरो सामान्य अंग्रेजी सिकाइ पनि सुरु भयो । बहुत गाह्रो महशुष हुन्थ्यो । अंग्रेजी सिक्न । सायद बुबा भएको भए म केहि तेज हुन्थे होला अंग्रेजीमा । अहिले त लाग्छ म निकै मात्तिदै गएको छु अंग्रेजी नजानेर । अंग्रेजी त के नेपाली पनि राम्रो लेख्न र पढ्न आउदैन ।

यसरी त्यसको केहि बर्षमै बुबाको निधन भएपछि म आफुलाई पढाउने, पढ्ने बाताबरण फितलो भो । आफु नै सिक्ने र आफु नै सिकाउने भएर पढ्नु प¥यो । सहयोगीको रुपमा आमा, काकाहरु, सिबी कुलुङ, मोतीलाल फुपाजु र फुपुहरुको ठुलो देन रह्यो । केहि बर्ष गाउँमा र ६० सालमा काठमाण्डौ भित्रिए । मेरो एसएलसि सकियो । काठमाण्डौमा गाउँको नजिककै नाता पढ्ने प्रदीप कुलुङ भन्ने ब्यक्तिसंग निकै संगत बढ्यो । साइनोले उहाँ काका परे पनि उहाँ मेरो कहिले साथीको रुपमा, कहिले लिडरको रुपमा, कहिले शिक्षकको रुपमा हुनुहुन्थ्यो । भन्ने नै हो भने उहाँ मेरो प्रेरणाको श्रोत पनि हो । उहाँ आदीवासी जनजाती अनिजमा काम गर्नुहुन्थ्यो क्यारे ।

त्यसो त “आदीवासी आवाज” भन्ने पत्रिका छोडिदिइराख्नुहुन्थ्यो । म त्यो खालि माथिको आदीवासी आवाज मात्र पढ्थे । अरु मसिना अक्षरहरु पढ्नु जागर चल्दैनथ्यो । फोटोहरु हेर्थे । त्यतिकै छोडिदिन्थे । उहाँको कोठाको दराजमा निकै गज्जबले राखिएका अनेक पुस्तकहरु हुन्थे । त्यो मलाई झिकेर पढ्ने जागर पनि चल्दैनथ्यो । बरु छेउमा रहेको हार्मोनियममा खुब मलाई चाँसो थियो । म बजाउन चाहन्थे तर बजाउन आउदैनथ्यो । कहाँनेर सा, कहाँनेर प भन्ने मेसो आउदैनथ्यो । मन्द्र सप्तक भन्या के, मध्य के र तार सप्तक कुनलाई भन्छ के थाहा । तर त्यो बजाउने चाहना अधिक हुन्थ्यो । उहाँले सामान्य तरिकाले सिक्नुभएको रहेछ संगीत गायक नरेन्द्र कुलुङसंग । संगीतमा निकै ठुलो चाहना थियो उहाँको । दीपचन दियालीले लेख्नुभएको “बर्षा लाग्यो बादल उड्यो” भन्ने गीत खुब मज्जाले गाउनुभएको थियो । त्यो पनि गाउँमा । गीतार बजाउदै । बजाउन र गाउँनमा खुब सौखिन ति अमुर्त गायकले अहिलेसम्म पनि एक गीत रेकर्ड गर्न सकेका छैनन् ।

उहाँले सिक्नुभएको यमन राग सुनाउनुभएको थियो । शब्द न अर्थको । अनेपाली भाषाको । जसको बाक्य यस्तो थियो “एरि आली पियाबिना सखी” । यस्ता यस्तै थियो । तर म बुझ्दिन थे । उहाँ भन्नुहुन्थ्यो । अलंकारहरु, आलापहरु, रागहरु सिकेपछि मात्र राम्रो गीत गाउन सकिन्छ । सुर र ताल अनेक थरी बताउदै जानुहुन्थ्यो । त्यसो संगत दिने ति मेरा पहिलो संगीत गुरु पनि मान्छु म प्रदीप काकालाई ।

यति हुदा हुदै पनि उहाँ किताबहरु बेला बेलामा नियमित ल्याएर पढिरहनुहुन्थ्यो । यति सम्म कि उहाँ खानै नखाइ नखाइ पनि किताब पढ्न खुब रुचाउनुहुन्थ्यो ।
म सोध्थे कि “किताब यति धेरै किन पढ्नुहुन्छ ?”
उहाँ भन्नुहुन्थ्यो “किताब पढ्नु पनि एउटा नशा हो केटा ।”
त्यसको नशा लागेपछि अति नै लाग्छ रे । रक्सी जस्तै । चुरोटजस्तै । खान मन लागिरहने । दैनिकी कान्तिपुर, नयाँपत्रिका किन्नुहुन्थ्यो । साहित्यको लेखहरु, राजनीतिक बिषयक लेखहरु पढिरहनुहुन्थ्यो ।
६४ सालतिर हो क्यारे । उहाँको बुबा अति नै बिरामी पर्नुभयो । त्यो पनि गाउँमा । अति नै बिरामी बल्झेपछि यता काठमाण्डौ ल्याउनुभयो । उपचारको लागि । त्यो समयमा म पनि बिरामी कुरुवा बसे । उहाँ पनि । उहाँले भर्खरै प्रकाशित पुस्तक “सम्झनाको कुइनेटाहरु” भन्ने निवन्ध संग्रह किनेर ल्याउनुभयो । जसको लेखक खगेन्द्र संग्रौला हुन् । त्यो पुस्तक पढ्नुभयो । मैले यसो कभरमा खगेन्द्र संग्रौलाको सुकेका जिउ, ठुलो चस्माले छोपिएका बुढो अनुहार हेर्दै बसे । भित्रि युनिकोडमा लिखित बाक्ला अनि मसिना नेपाली अक्षरहरु थिए । पढ्ने जागर त के मिल्थ्यो र । त्यतिकै फर्र पल्टायो सकि गो ।
धेरै समय बिरामी कुरीरहनु पर्ने हुदा के गर्ने के गर्ने भयो । त्यहि किताब हातमा थियो । यसो टाइम पास गर्ने केहि थिएन । आखिरीमा त्यहि किताब पल्टाए । पढे पहिलो निवन्ध । जसमा छोरीले बुबालाई फोन गरेर बोलेका संवाद थियो । पहिलो बाक्य । त्यसभित्र एउटा शब्द थियो “ओखतीशाष्त्र” । मैले बुझिन । त्यसलाई छोड्दै पढ्दै गए । बुझ्दै गए त्यसको भाव । मनमा एउटा चित्र खेलिरहेको आभाष पलायो । झन् पढ्दै गए । मेरो आँखा ति अक्षरहरुसंग भए पनि त्यो अक्षरको प्रभाव मेरो दीमागमा हुदै मेरो आफ्नै मनभित्र ति कथाका चित्रहरु खेल्दै गएको आभाष पाए । जसले झन् किताब पढ्नलाई हौसला पो मिल्दै गयो । दुइ तिन ओटा निवन्धहरु पढी सके त्यो समयमा ।

काका आउनुभयो । भनेः “यो किताब त बडो काइदाको रहेछ ।”
“भर्खर निक्लेको किताब हो राम्रो छ ।”
ओखतीशाष्त्र भनेको अस्पताल हो भनेर बताउनुभयो । मैले त्यति जाबो पनि नबुझ्दा साहित्यको गहिराई भनेको के रहेछ भनेर चाल पाए । त्यो किताब ढिलोचाडो पढि सके । अरु किताबहरु पढ्ने खुब चाहना बढ्यो मभित्र । त्यसपछि प्रदीप नेपालको पुर्बतिर भन्ने उपन्यास काकामार्फत नै मागेर पढे । राजनीति प्रति चाँसो नबढेपनि द्धन्द्धको बिषयक कुरा, राजनीतिक आन्दोलनका समर्पित पुस्तकका बारेमा लेखिएका एक युवकको कथा पढ्दा ति युवक स्वयं म आफु नै हो कि भन्ने आभाष दिलायो । त्यसले एक तरिकाको आनन्दको अनि किताब पढ्ने मोह पलायो ।

यसरी मैले २०६३ सालमा एसएलसी सकिएपछि कलेज पढ्ने समय यता अनलाइन बिजनेशमा काम गर्ने अवसर पनि मिल्यो । एक प्रशिक्षकको रुपमा । मलाई केहि पैसा प्राप्त हुन्थ्यो पढाएबापत । जुन पैसाले म केहि किताब किन्थे । म यतिसम्म छट्टु थिए कि चलाखी गरी गरी किताब किन्ने गर्थे । कक्षा ११ मा मैले काकीलाई किताब किनीमाग्दा कोर्षको ५ वटा किताब बाहेक अरु पनि किताब किनीमाग्थे । एक दिन काकी र म सुन्धारा, खिचापोखरी, भोटाहिटी नेर किताब किन्न गयौ । मैले कोर्षको किताबको वास्ता गरिन । मेरो आँखा पसलमा झुन्ड्याइएका कर्ण शाक्यद्धारा लिखित “सोच” किताबमा गयो । त्यो पो किन्न लगाइयो काकीलाई । काकी यो नै हो हाम्रो कोर्षको किताब भन्दै ढाट्दै छेउमा रहेको जोन उडद्धारा लिखित, खगेन्द्र संग्रौलाद्धारा अनुवादीत किताब “माइक्रोसफ्टदेखि बाहुनडाडासम्म” भन्ने किताब किनियो । यसरी मैले यि दुई पुस्तक कलेजको हो भन्दै किनि मागेर पढे ।

यसैगरी बढ्दै गयो किताब भित्रको मोह । पोखरा ०६६ साल भदौ २९ गते बेलुकि ६ः१५ बजे पहिलोपटक आएको हुँ । म पोखरामा एक प्रशिक्षकको रुपमा नै आए । अनलाइन ब्यवसायको । यसरी पोखरा आएपछि पनि यि चार बर्षको दौडानमा मैले पुस्तकहरु किनीरहे । पढिरहे । यहि आएर मैले पहिलोपटक जगदीश घिमिरेको “अन्तर्मनको यात्रा” पढे । त्यो पुस्तक पढिसकेपछि मलाइ आँट र हौसला मिल्यो । क्यान्सर रोगजस्तो पिडाले भरिएको बेला ल्याप्टप आफ्नो छातीमा टासेर युनिकोडजस्तो अप्ठ्यारो फन्टमार्फत पनि कुनै किताब लेख्न सकिन्छ भने मसंग के क्यान्सर छ ? म स्वस्थ्य हुँदा हुँदै पनि किन केहि गर्न सक्दिन ? किन आफ्नो जीबनमा केहि गर्न सक्दिन ? यस्तो खालको प्रश्न बारम्बार आफैलाई गरिरहन्थे ।
बीचमा म सञ्जाल ब्यवसायमा काम गरे । अनवरत रुपले म यो ब्यवसायको गहिरो अध्ययन गर्न पुगेछु । रोबोट कियोसाकीको “धनी बुबा र गरिब बुबा” ले सञ्जाल ब्यवसाय संसारमा कहिल्यै पनि ठगी ब्यवसाय नरहेको प्रमाणित ग¥यो । यस्तै पुस्तक मात्र एक ताक पढे । वर्क हेजस, स्वेट मार्डेन, नेपोलियन हिल, शिव खेडा जस्ता बिदेशी लेखकको नेपाली अनुवादीत पुस्तकले ब्यवसाय सम्बन्धि राम्रो टिप्स प्राप्त गरिरहे ।
सञ्जाल ब्यवसाय नेपालमा धराशायी बनेपछि मैले त्यस किसिमको पुस्तक अध्ययन गर्न छाडिदिए । किनकी त्यो ब्यवसाय नेपालमा गर्न नसकिएपछि पढ्नुको के अर्थ । परम्परागत ब्यवसाय गर्नलाई कुनै मन पनि छैन । गर्न पनि सक्दिन ।

फेरी मेरो अध्ययन भने रोकिएन । साहित्य तर्फ । नारायण वाग्लेको “पल्पसा क्याफे” पछि प्रकाशित भएको नयाँ “मयुर टाइम्स” , प्रदीपमान तुलाचनको “आश” समेत पढे । आश युवापिढीको निम्ति प्रगतिउन्मुख पुस्तक तथा उपन्यास रहेकोले मैले यो पुस्तकको बारेमा आफैले एउटा लेख तयार पारे । पोखराको एक लोकल पत्रिकामा प्रकाशित पनि भयो । शारदा शर्माको “भुईफुलको देश”, बुद्धीसागरको “कर्णाली ब्लुज”, खगेन्द्र संग्रौलाकौ “ आफ्नै आँखाको लयमा”, कर्ण शाक्यको “खोज”, “म सक्छु”, भयवाद उत्पति गर्नुहुने देश सुब्बा लिखित पुस्तक “अपनाम” सरुभक्तको “पागल बस्ती”, जगदीश घिमिरेको “साबिती” , राजन मुकारुङको “हेत्छाकुप्पा” जस्ता दर्जनौ पुस्तक पढे ।
हिमाल, नेपाल, कान्तिपुरको शनिबार, नागरिकको अक्षर म नबिराई पढ्थे । त्यहाँको साहित्यको बारेमा, लेखकको बारेमा, किताबको समिक्षा हेरेर म सक्दो किताब किनेर पढ्थे । यसरी पुस्तक पढ्नुको एउटा बेग्लै बाताबरण मैले पोखरामा पछि पाए ।

म संगीतमा अध्ययन गरिरहेको एक बिद्यार्थी भएको नाताले मलाई नेपाली संगीतको पुराना गायकहरुको नारायण गोपाल, भक्तराज आचार्य, गोपाल योञ्जन, बच्चुकैलाशजस्ता श्रष्टाहरुको बारेमा खुब बायोग्राफी पढ्न मन थियो । तर त्यस किसिमको पुस्तक कहि कतै पनि प्राप्त गर्न सकिन ।
दशँै ताक म गाउँ गए । गाउँमा मेरो एक जना साइनोले काका पर्नुहुन्छ । उहाँसंग कमसेकम पनि तिन हजार भन्दा बढि पुस्तकहरु छन् । बिभिन्न बिद्याका पुस्तकहरु । मैले उहाँलाई मेरो इच्छाबमोजिमको बायोग्राफी पुस्तक कुन होला भनेर सोध्दा उहाँले प्रकाश सायमीद्धारा लिखित “नेपाली संगीतको स्वर्णिम युग” भन्ने पुस्तक बताउनुभयो । उहाँसंग पनि त्यो पुस्तक रहेछ । मैले ससर्ती हेर्न मात्र पाए ।
पोखरा फर्केपछि प्रकाश सायमीको अर्को पुस्तकको परिचर्चा भईरहेको थियो । एक कार्यक्रममा, जुन कार्यक्रम पोखराको रेन्डम रिडर्स सोसाइटी नेपालद्धारा आयोजना गरिएको कार्यक्रम थियो । यो कार्यक्रममा म पनि कसो कसो सहभागी बन्न पुगेछु । खाँसमा त्यो समयमा बिबि अनुरागी एकल साँझको तयारी कार्यक्रम चलिरहेको थियो क्यारे । मलाई संस्कृतिकर्मी श्यामलाल श्रेष्ठले कार्यक्रममा जानको निमित्त हौसाउनुभएको थियो ।

“नेपाली संगीतको एक शतक” को बारेमा चर्चा परिचर्चा हुदै रहेछ । लेखक स्वयं पनि उपस्थित हुनुभएको थियो । प्रकाश सायमी भन्ने बित्तिकै ति पुस्तक “नेपाली संगीतको स्वर्णिम युग” को बारेमा झल्को आइहाल्यो । मैले खोजेको जस्तो लेख्ने पुस्तकको लेखक त उहाँ नै पो रहेछ भन्ने भान उत्तिखेरै भयो । आनन्दित भए । पुस्तकको बिषयमा आफ्ना जिज्ञासाहरु राखिरहेका थिए । छेउमा श्यामलाल दाई मलाई कोट्याइराख्नुभएको थियो । तिमी पनि केहि कुरा राख भनेर ।

अब म के कुरा गरु । के कुरा राखु । म आफैलाई थाहा थिएन । “ सर तपाईको पुस्तक नेपाली संगीतको स्वर्णिम युगबाट हजुरलाई चिनेको हुँ । त्यो पुस्तक मैले खोजेको पुस्तक हो । आज यो तपाईको नयाँ पुस्तक सहित तपाईलाई नजिकबाट भेट्न पाउदा अति नै खुशी भएको छु ।” यहि भने । उहाँ निकै मिठो तरिकाले मुस्कुराउनुभयो । म बोले पिच्छे टाउको तलमाथि पार्नुहुन्थ्यो ।

यसरी फेसबुकको खुबै चर्चा मसंग भयो । यो मार्फत नै मैले प्रकाश सायमीलाई निकटतामा ल्याए । उहाँको स्टाटसहरु पढिरहे । खुबै रमाइला कुराहरु हुन्थ्यो । बढिजसो जानकारी मुलक कुराहरु हुन्थ्यो । बढि चाहि संगीत सम्बन्धि । च्याटमार्फत उहाँसंग बेलामौका कुरा हुन्थ्यो । म निकै खुशी हुन्थे ।
प्रकाश सायमीसंग अर्को पुस्तक “बर्सादी दिनहरु” मा फेरी भेटघाट गर्ने अवसर मिल्यो । त्यो निवन्ध दोश्रो संस्करणको निवन्ध रहेछ । त्यो पुस्तकबाट मैले शंकर लामिछानेलाई नजिकबाट नियाल्न पाए । उनको पुस्तकमार्फत । “एब्स्ट्रयाक्ट चिन्तन र प्याज” निवन्धबाट । शंकर लामिछानेको भक्त प्रकाश सायमी । उनको ति निवन्ध तिस बर्षपछि बल्ल अर्को संस्करणमा बल्ल प्रकाशनमा आएको रे ।
यस्ता खोजमुलक जानकारीहरु मैले प्राप्त गरे । उहाँको अतितका संगीतसम्बन्धि, सञ्चार क्षेत्रको, बम्बईमा बस्दा चलचित्र क्षेत्रमा गरेका संघर्षका कुराहरु निकै रोचक तरिकाले लेख्नुभएको थियो । त्यो पुस्तकको बिषयमा मैले पछि लेख पनि लेखे । आफ्ना मनका कुराहरु लेखेको थिए । पछि त्यो कसो कसो प्रकाश सायमीसम्म पुगेछ । फेसबुकको माध्यमबाट । तिनको प्रतिक्रियाको रुपमा उहाँले आफ्नो स्टाटसमा समेत लेख्नुभयो । म अत्यन्त खुशी भए ।

लेख्नको निमित्त अर्को हौसला पो मिल्यो । यसरी मैले उहाँमार्फत रेफर गरिएका पुस्तकहरु निकै पढ्ने कोशिष गरे । शंकर लामिछानेको “गौथलिको गुड”, “शंकर–स्मृति”, “पिँजडाको सुँगा” पढे । “दीब्य संगीतकारः दीब्य खालिङ”, एआर रेहमानको बायोग्राफी, इन्द्र बहादुर राईको “आज रमिता छ”, गीता त्रिपाठीको “म एक्लो र उदाष उस्तै” जस्ता पुस्तकहरु पढ्ने मौका पाए ।

यसरी म पुस्तकसंग धेरथोर नजिकै छु । मसंग समय भयो भने अधिकांश समय पुस्तकमै बित्छ । पढ्छु । थोरै बुझ्ने । धेरै बुझ्ने प्रयाशमा छु । तर म जति पढे त्यति साहित्यको सागरमा चाहि डुब्न सक्दिन । आँखिर साहित्य कस्तोलाई भन्छ । त्यो मलाई पनि थाहा छैन ।

मैले पढेपछि मेरो निकटका रुम पार्टनर साथीहरु पढ्नमा रुचि राख्ने भए । निकै पुस्तक पढेका छन् मेरो रुम पार्टनर गीतकार टीका खड्काले । त्यो बाताबरण पनि राम्रो भयो । अहिले म कुनै साथीको जन्मदिन परेछ भने सके जति किताब नै दिन्छु । उपहारको रुपमा । मैले उपहारको रुपमा एकदिन टिकालाई अमर न्यौपानेको “सेतो धरती” दिएको थिए । भर्खरै प्रकाशनमा आइरहेको थियो । त्यो पुस्तक पढेपछि उनलाई निकै राम्रो लागेछ । मैले अर्को जन्मदिनको अवसरमा डायस्पोरा साहित्यकार तथा अमुर्तबोधी दार्शनिक खगेन्द्र पन्धाक लिम्बुको “एब्स्ट्रयाक्ट ब्यांकक” भन्ने पुस्तक दिए । मैले किताब दिएपछि अन्य साथीहरुले पनि उपहारको रुपमा जिन्सी सामान नदिई पुस्तकै किनेर दिए । गायक बिजय राईले उनलाई चेत्तन भगतको “थ्रि मिष्टेक” र गायक किसान नेपाली ले युग पाठकको “उर्गेनको घोडा” किनेर दिए ।

यसरी म आफुले हालसम्म त्यति धेरै पुस्तक नपढे पनि धेरै साथीहरुलाई पढ्ने सल्लाह पनि दिएको छु । त्यसको ज्वलन्त उदाहरण गीतकार टीका खड्का पनि एक हो ।

प्रकाश सायमीको एक अन्तवार्ताले झन् मलाई पढ्ने प्रेरणा मिलिरहन्छ । गीता त्रिपाठीले गरीमा मासिकको लागि लिनुभएको अन्तवार्तामा तपाई पुस्तक किन पढ्नुहुन्छ ? भनेर सोध्नुभयो । जसको उत्तर यस्तो थियो “म लेख्छु । पढ्नका लागि लेख्नु । लेख्नको लागि पढ्छु । पढ्ने र लेख्ने काम मेरो मस्तिष्क सोधनका निम्ति हो ।”

अहिले मसंग एक त्यस्तो महत्वपुर्ण पुस्तक छ । जुन पुस्तक प्रकाश सायमीमार्फत नै प्राप्त भएको पुस्तक हो । बिश्वको सबैभन्दा महंगो प्यानोइष्ट लाङ लाङको “ जर्नि अफ अ थाउजेन्ड माइल्स्” भन्ने पुस्तक छ । जुनबाट मैले धेरै कुराहरु सिकिरहेको छु । पढिरहेको छु ।

सकेछु भने यो पुस्तकको बारेमा म केहि लेख्नेछु । आफ्नो मनको कुरा । आँखिर जिन्दगी जिउनुको मज्जा त किताब पढ्नुमा रहेछ । म त भन्छु मेरो जीबन नै किताब हो । किताब नै जीबन पनि हो ।

२०७० असोज २९ गते
पर्बत दुर्लुङ