Wednesday, August 1, 2012

ब्लग भनेको के हो ?




ईन्टरनेटको यो दुनियाँमा आजकल सबैले ब्लग प्रयोग गर्नु अति नै जरुरी छ । नेपालमा त झन् ब्लगको खासै प्रयोग भएको पाईदैन । सबै ब्यक्तिले ब्लग बनाएर आफ्नो लेख, रचना, दैनिकी, तस्बिरहरु अब ब्लगमा हालेर सबैले एक अर्कालाई साट्नुपर्दछ । हुन त अहिले ब्लगभन्दा एड्भान्स धेरै सामाजिक सञ्जालका वेबसाईटहरु आईसकेका छन् तर ति आए पनि ब्लगको आफ्नै महत्व भने रहिरहेको छ ।
यसको महत्व किन छ त भन्दा यो एउटा वेबसाईट जस्तै हो । आजकल वेबसाईट ब्लग जे भने पनि ब्लग निःशुल्क रुपमा बनाउन सकिन्छ । यसले एउटा साधारण ब्लग कसरी बनाउनु पर्दछ भन्ने यो कुरा पनि राम्ररी सिकाउछ ब्लगले ।
मैले पनि ब्लग प्रयोग गरेको धेरै भएको छैन र पनि म अझै ब्लगको बिषयमा सिक्दै छु । यसको सिकाउने ठाउँहरु पनि छैन । न त कुनै प्रशिक्षण केन्द्र नै छ न त स्कुल कलेजमा नै अध्ययन गराउँछन् । यो मात्र सेल्फ आफैले सिक्नुपर्दछ ईन्टरनेटको गुगल वेबसाईट कोट्याई कोट्याई । मैले पनि त्यहि गरेर सिकेको हु ।
पहिलो चोटी मेरो एक जना काका मनोज राई भन्ने हुनुहुन्थ्यो । उहाँ हाम्रो दाजुभाईको नाताबाट काकाको साईनो पथ्र्यो । त्यहि काकाबहादुरको ब्लग lhotsampa.blogspot.com भन्ने थियो । त्यो ब्लग मैले उहाँको ठेगाना लिन खोज्दा दिनुभएको थियो । अनि मैले सोधे
काका यो कसरी बनाईन्छ ?
काका मुख फिस्स पार्दै भन्नुभयो, “भाई यो गाह्रो छ तिमीले बनाउन सक्दैनौ ।”
सायद बुढालाई मैले कहि पनि कम्प्युटर नसिकेको कारणले उहाँले सक्दैनौ भन्नुभएको महशुष गरे । तर म साइबरको एकल गुरुले सिकाईसकेकोले म आफै गुरु अनि म आफै चेला बनेर ईन्टरनेटको किरा भईसकेको थिए ।
म यसो नम्र स्वरमा काकालाई प्रस्ताब गर्छु “काका ! मलाई भन्नुस् न कोशिष त गर्नसक्छु नि ।”
निधार खुम्च्याउदै बुढाले “यो गुगलबाट बनाउनुपर्छ भाई तिमीले सक्दैनौ होला ।”
ल पुग्यो बुढा पुग्यो । यति भए मलाई काफी थुक्क म पनि गुगलमा पाईहालिन्छ नि । जाबो यति कुरा भन्नलाई काकाबहादुरलाई यति धेरै समय लाग्यो कि उहाँको मैले धेरै नै लिईहाल्छ कि जस्तो भान भा जस्तो लाग्यो । तर मैले लिए त्यति शब्द गुगल ।
ईन्टरनेट को अत्यन्तै भुक्तभोगी थिए । यो २०६४ साल तिरकै कुरा हो । मैले जब एस एल सि सकाए त्यसलगतै म मार्केटिङ कामको सन्यास लिएर फुर्सदिलो भएर बसेको थिए । उबेला डिउसोफ्ट नेपाल भन्ने संस्थामा मेरो काका सदष्य हुनुहुन्थ्यो त्यहाँ सदष्य बनेपछि एक जना कम्प्युटर बेसिक निःशुल्क थियो । म जोरपाटि बेसिगाँउ देखि बालाजु चोकसम्म साईकल पेलेर साईकलमा बग्दै जानुपथ्यो । ओरालोमा साह्रै सजिलो अनि तेर्सोमा कति आनन्द तर त्यो भत्कन नसकेको चाबहिलको उकालो हरे शिव ! कुरै नगरौ यति गाह्रो थियो कि उकालो । साच्चै भन्ने हो भने म त्यो चाबहिलको उकालो र त्यो जोरपाटीको उकालो मलाई साहै्र नै रिसको थुप्रो जम्मा गर्न मन लाग्छ । भन्ने नै हो भने त जोरपाटिको त्यो उकालोमा त मेरो एउटा अगाडिको दाँत नै झारिदिएको छ । मेरो रुप नै परिबर्तन गराईदियो त्यो पापी उकालो ।
अनि म त्यो कारणले सिक्न पनि खासै गईन । कलेजमा कम्प्युटर साईन्स पढ्ने निधो गरे । म कम्प्युटरमा साह्रै इच्छुक रछु भन्ने म आफैलाई भान भयो । मनमा त्यतिकै कौतुहलता जाग्यो । यो वेबसाईट भन्ने जन्तु त कस्तो अचम्मको र छ बा । सबै कुरा थाहाँ हुने । फोटोहरु पुरा ईन्टरनेटमा आउने । मैले गुगलमा सर्च गर्दै गए टक्क साहरुख खान लेख्दा साहरुख खानको कति फोटोहरु आउथ्यो । आहाँ कति आनन्द । मेरो पनि अनुज कुलुङ लेख्दा कतै मेरो फोटो आउछ कि भन्ने लागेको थियो । तर उति खेर सर्च गर्दा केहि नै आएन मेरो नाम त के खै कोको हो कोको । त्यसका चाईने कसरी आउछ यो भन्ने भान भयो अनि मैले सोचे सायद त्यहि ब्लग बनाएपछि आउछ होला । मैले ब्लग बनाए । गुगलमा ब्लगस्पट टाईप गरेर बनाउन सिके र बनाए पनि । तपाईले पनि यसरी बनाउनुस् है त ः
सबैभन्दा पहिले तपाईको जिमेलमा ईमेल ठेगाना बनाए अझ राम्रो हुन्छ नभए याहु, हटमेल भए पनि हुन्छ । यसरी गर्नुहोस् ।
–ईन्टरनेटमा www.blogger.com मा जानुहोस् ।
–त्यसपछि तपाईले त्यहाँ थोरै मेहनत गरेर पढ्नुहोस्, त्यहाँ कुनै ठाउँ sign up, create a new account भन्ने हुन्छ त्यहाँ क्लिक गर्नुहोस् ।
–तपाईले त्यहाँ फर्म भेट्नुहुन्छ, त्यो फर्म ईमान्दारपुर्बक भर्नुहोस् नत्र तपाईको ब्लग बनाउने सपना सपनामै सिमित रहन्छ । ईमेल ठेगाना, पासवर्ड, डिस्प्ले नेम, जन्ममिती, जेन्डर अनि त्यहाँ केहि टर्मस्हरु क्लिक गर्नुपर्ने हुन्छ राम्ररी क्लिक गर्नुहोस् । दायाँ साईडमा तपाई हेर्न तपाईले यसरी गर्नुहोस् भनेर भनिरहेको हुन्छ । जस्तो कि पासवर्ड कृपया कम्तिमा ८ वटा जति टाईप गर्नुहोला भनेर भनेका हुन्छन् ।
–त्यसपछिको क्रममा तपाईले ब्लगको डिजाईन छानेर कन्टिन्यु गर्न सक्नुहुन्छ ।
–त्यसपछि तपाईहरुले ब्लगको शिर्षक अर्थात ब्लग टाईटलमा तपाई शिर्षक जे पनि राख्न सक्नुहुन्छ । जस्तै उदाहरणः Anuz kulung Blog's
–त्यसपछि युआएलमा तपाईले तपाईको पुरा नाम स्पेस नदिईकन लेख्न सक्नुहुन्छ । अर्थात तपाईको आफुले राख्न खाजेको युनिक नाम समेत पनि राख्न सक्नुहुन्छ । जस्तै htt://anuzkulung.blogspot.com/र । यसको anuzkulung चाहि तपाईको युआरएल नाम हो ।
तपाईले यदि जिमेल आईडि छ भने सिधै sign in गरेर बनाउन सक्नुहुन्छ ब्लग कोशिष गर्नुहोला ।
यसरी तपाईले आफ्नो ब्लग रजिस्टर गर्न सक्नुहुन्छ । मैले यसरी नै बनाए मेरो ब्लग www.anuzkulung.blogspot.com। कति आनन्द आयो भने । इन्टरनेटको मेन पेजको ठेगाना कोठामा आफ्नो नाम सहित डट कम हान्न पाउदा कति गर्ब महशुष गरे कि । सोचे मेरो बाहेक कसैको पनि आउन सक्दैन यसरी भनेर ।
आउन त आयो तर सबै खाली पेज । हे राम अब कसरी यहाँ भित्र आफ्नो फोटो र लेख लेखेर आउने बनाउने होला । त्यो दिन त्यतिकैमा साईबरको समय सकियो । अब फेरी बढि समय बसियो भने खल्तिमा पैसा छैन । मार्छ भनेर म त्यो दिन त्यतिकै साईकल लिएर आफ्नो गृहतिर लम्किन थाले । बाटोमा साईकलसँग बग्दै सोचे कसरी त्यहाँ फोटो हाल्ने होला ।
भोलीपल्ट काकीले खाजा खर्च भनेर दिएको रु.२० जतनसाथ खल्तिमा राखेर म साईकल पेलेर कलेज गए । कलेज बिदा भएर फेरी बाटोको साईबरमा पसे । त्यहि ब्लगको वेबसाईट ईन्टरनेटको मुख्य ठेगानामा हाने । तर केहि आउदैन । खाली नो पोष्ट भनेर मात्र आउछ । कसरी हाल्ने होला भनि टोपल्छु अह केहि सिप लाग्दैन । त्यहाँको हेल्पमा गएर यसो पढ्छु । सबै पोष्ट गर्ने तरिकाहरु फोटो हाल्ने तरिकाहरु दिएको थियो । तर त्यो हाल्ने स्टेपसम्म कदम चाल्न सकिन । साईबरको मान्छेलाई सोधु कि जस्तो लागेको थियो । तर बिचरालाई केहि आउदैन होला जस्तो लाग्यो र मैले सोध्ने कष्ट गरिन । कति नै यो ब्लग बनाउने तरिका मलाई मात्रै थाहा छ जस्तो ।
त्यो दिन पनि त्यतिकै बित्यो हाल्ने तरिका त थाहा भयो तर के काम स्टेप चाल्न नसकेपछि । अहिले आएर यसो सोच्छु मलाई अंग्रेजी बिषय अत्यन्तै गाह्रो लाग्थ्यो म अहिले पनि राम्ररी छिचोल्न सक्दिन त्यति सजिलै बुझ्दिन अंग्रेजी अक्षरहरु । यदि मलाई अंग्रेजी आएको भए म यो लेख नै अंग्रेजी अक्षरबाट लेख्थे । अंग्रेजीमा एकदम लद्दु ठान्छु । बिस्तारै बिस्तारै सिक्दै छु ।
अर्को दिन धापासी एक आफन्तजनकहाँ जादा फेरी साईबरमा पुगे । धापासीमा पनि अरु काकाहरु नै बस्नुहुन्थ्यो । त्यहाँ गए र साईबरमा पसे । त्यहाँ पनि त्यहि पेज खोलेर दिक्क मान्दै केहि क्षण बसेको थिए । मनमा सोच्दै गए आज त जसरी पनि हालेरै छाड्छु । करैले त्यो साइबरको बन्धुलाई खुसुक्क सोधे ।
“दाई तपाईलाई यो ब्लगमा इन्फर्मेसन हाल्न आउछ होला ? फोटो कसरी हाल्ने होला ?”
साइबरवाला दाई “त्यहाँ sign in गरेर गर्नुस् न ।”
आच्या यो मान्छेले त कति सजिलै भन्यो । यसलाई त पुरै आउदा रहेछ मलाई मात्र आउछ कि भन्ने सोचेको त यसलाई पनि आउदा रहेछ ये...........
अनि त भईहाल्यो नि । त्यो फोटो हाल्ने स्टेपहरु त भकाभक आउन थाल्यो । टक्क आफ्नो त्यो रजिष्टर गर्दाखेरीको ईमेल र पासवर्ड हाले अनि त्यसपछि फोटो र ईन्फर्मेसन टाईप गर्न स्टेपहरु यस्तो रह्यो ।
–www.blogger.com वेबसाईट खोल्ने
–sign in गर्ने
–new post मा क्लिक गर्ने
–टाईटलमा आफ्नो लेखको टाईटल हाल्ने
–तल टेक्स बारमा आफ्नो लेख लेख्ने र फोटोको लागि टुल्स बारको एड ईमेजमा क्लिक गर्ने जहाँ तस्बिरको चिनो देखाउछ ।
–आफ्नो फोटो डेक्सटपमा सेभ गर्ने
–अनि ब्लगमा गएर फोटो browse मा क्लिक गर्ने र डेस्कटपको फोटो तान्ने ।
–केहि समयपछि फोटो आफै अपलोड हुन्छ र त्यो लेखमा अटोमेटिक आउछ । अनि अन्तिममा गएर Publish postमा क्लिक गर्ने । अनि अर्को पोष्टको लागि पुनः New Post मा क्लिक गर्ने ।
यसरी तपाईको ब्लग तयार हुन्छ । तपाईले आफ्नो लेख रचना जे पनि हुन्छ त्यो हाल्न सकिन्छ र यसरी तपाई ले पनि आफुले ब्लग बनाएर सबैलाई त्यो ब्लग को ठेगाना बाड्न सक्नुहुन्छ ।
मेरो चाहना यो मेरो लामो गन्थन पढेर ब्लग बनाउन सक्नुहोस् भन्ने नै हो । यदि कसैले बनाउन सक्नुभएन भने मेरो यो पोष्टको कमेन्ट बक्समा Request गर्न सक्नुहुन्छ । नभए यहाँ http://www.facebook.com/anuz.kulung क्लिक गरेर फेसबुकमा पनि request गर्न सक्नुहुन्छ । तर जहाँ सम्म लाग्छ बनाउन सक्नुहोला । धन्यवाद.....

No comments: