Monday, January 28, 2013

प्रकाश सायमी, बर्सादी दिन र म ।


 “बर्सादी दिनहरु” दोश्रो संस्करणको बिमोचन पोखरामा निकै भब्य पुर्बक सम्पन्न भएको थियो । बिद्युतिय निमन्त्रणामार्फत मैले सुईको पाउनासाथ प्रकाश दाईको दर्शन गर्न म निकै आतुर थिए । समय आयो र गयो पनि । हुन त प्रकाश सायमी दाईसँग त्योभन्दा अगाडि दुई पटक भेट भईसकेको थियो । तैपनि प्रकाश दाईले मलाई चाहि चिन्नुहुन्थेन । मैले उहाँलाई गजबले चिन्थे । उहाँको “नेपाली संगीतको स्वर्णिम युग” भन्ने किताबबाटै पहिलोचोटी चिने । अनि फेरी पछि गएर उहाकै अर्को किताब “नेपाली संगीतको एक शतक” भन्ने कृतिको चर्चा परिचर्चा कार्यक्रम पोखरामा भएको बेला प्रत्यक्ष भेटे, देखे र बोले । भेटको हिसाबले त्यो मेरो पहिलो भेट थियो । “नेपाली संगीतको एक शतक” मैले निकै मसिनाएर पढे । पढ्दै जादा लाग्थ्यो, उहाँ राम्रो गायक नै होला । 

तर मेरो ठम्याई गलत रहेछ । उहाँलाई त मैले धेरै ढिलो चिनेछु । म आफै लज्जित भए । मैले “सिमाना”,"'Dastoor', 'Hatiyar' ,"Prithivi" फिल्मको गीत कति गाउछु । मनमनमा । कार्यक्रमहरुमा । तर त्यो फिल्म निर्देशक को रहेछ मैले खोजीनिती नगर्दा लज्जित हुन पुगे । त्यो फिल्मको निर्देशक त प्रकाश सायमी पो रहेछ । संगीतको औपचारिक शिक्षा नभएता पनि नेपाली र अन्य राष्ट्रहरुमा रहेको संगीतको गतिलो बिश्लेषन गर्न सक्ने क्षमता उहाँमा देख्दा म निकै प्रभावित भएको छु । त्यतिको सांगीतिक इतिहाँस त सायद संगीत कर्ममा लागिरहने अधिकांशलाई पनि थाहा छैन कि जस्तो लाग्छ । त्यहि कारणले होला उहाँलाई संगीतको विकियोपिपिडिया पनि भन्ने गर्दछन् ।

अनुहार पुस्तिका (फेसबुक) मार्फत उहाँ र मेरो बढि चिनजान भएकै कारणले पोखरामा उहाँको नयाँ संस्करित पुस्तक “बर्सादी दिनहरु” बिमोचन हुने कार्यक्रममा म पुग्ने बितिकै  मेरो नमस्कार अभिभादन बडो मुस्कानले फर्काउनुभो । म अलिक कम बोले त्यो कार्यक्रममा किनकी कतै म बढि पो बोलीहाल्छु कि भन्ने एक तरिकाको त्रास थियो । तर त्यो पाली प्रकाश दाईले मलाई साच्चिकै चिन्नुभो नबिर्सने गरी । एक तरिकाको गर्ब लाग्यो आफैभित्र । यस्तो दिग्गज ब्यक्तिको चिनजानको मान्छे त कमसेकम हुन पाए ।
मलाई साहित्यको कुनै पनि बिषयमा ज्ञान छैन । म साहित्यको पाठक चाहि अवश्य हुँ । तर साहित्य कसरी लेखिन्छ, त्यो बिशाल साहित्य नाम गरेको रुखको मुना समेत मकहाँ पलाएको छैन । फेसबुकमार्फत मैले कुराकानीका क्रममा भनेको थिए “प्रकाश दाई म चाँडै नै त्यो खाडीमा दुःख पाउन जादैछु । नचाहादा नचाहादै ।” त्यो बेला उहाँले भन्नुभयो–“धेरै दुःख लाग्यो भाइ” । बिमोचन कार्यक्रमको पहिलो भेट मै भन्नुभो –“भाई बिदेश जाने कुरा गर्दै हुनुहुन्थ्यो नि ?”त्यतिखेर मैले भने –“केहि समय यतै बस्ने निर्णय गरे दाई ।”उहाँले भन्नुभो –“खुशी लाग्यो भाई ।”

जीबन दुःख र सुख(खुशी) को यात्रा नै हो । दुःखले सिकाउछ । सुखले अझ धेरै काम गर्ने उत्प्रेरणा जगाउछ । हौसला जगाउछ । बस् मैले प्रकाश दाईबाट यहि कुरा सिके । उहाँको नयाँ निःसंस्मरण निबन्धबाट पनि यहि कुरा सिके । लाग्छ कि उहाँ जस्तै लेख्न पाए हुन्थ्यो तर त्यो खालको क्षमता मकहाँ बृद्धि कहाँ भएको छ र ? अर्को कुरा उहाँ बहुआयमीक ब्यक्तित्व हुनुहुन्छ । जीबनमा मैले हालसम्म २ जना मान्छेबाट निकै प्रभावित छु । एउटा उहाँहरुको काम गर्ने शैली देखेर अर्को उहाँहरुको मेहनत, लगनशीलता देखेर । ति ब्यक्ति पहिलोमा भुगोलविद् तथा लेखक स्व. डा. हर्क गुरुङ र दोश्रोमा उही प्रकाश सायमी । डा. गुरुङ लगातार ३० घण्टासम्म पढ्नुहुन्थ्यो रे । आफ्नो काम निकै मेहनतपुर्बक गर्नुहुन्थ्यो रे । यो मैले उहाँको एकदम नजिकको शुभचिन्तकबाट सुन्न पाएको थिए । मैले हेर्न त पाईन । तर उहाँको धेरै किताबहरु जस्तै “मैले देखेको नेपाल”, “बिषय विविध” जस्ता पुस्तकहरुबाट उहाँको लेखनलाई नियाल्न पाएको छु । त्यसैगरी अर्को प्रकाश सायमीको मलाई लेखन एकदम मन पर्छ । उहाँको लेखन एकदम सरल लाग्छ । सबैले बुझ्नेखालका । अनि अति नै रोचक कुराहरु समावेश गरेर लेखनको स्तरलाई बढाउनुहुन्छ ।

इतिहाँसको कुरा बढि झल्किन्छ उहाँको लेखनमा । जसले भबिष्यमा यो गनुपर्छ, त्यो गर्नुपर्ने रहेछ भन्ने एउटा पाठ पनि पढाउँछ । निवन्धकार शंकर लामिछानेको भक्त प्रकाश सायमी आफ्नो पुस्तक मार्फत नै जानकारी दिन्छन् । आज प्रकाश सायमीले गर्दा नै शंकर लामिछानेलाई चिन्न सके । उहाँकै सक्रियतामा ३० बर्ष पछि फेरी शंकर लामिछानेको   पुनः कृति निस्क्यो । फलामको चिउरा जस्तै लाग्ने “एब्स्ट्रयाक्ट चिन्तन र प्याज” अनि “गोधुली संसार” ।  अग्रजलाई ज्यादै सम्मान गरेकै कारणले गर्दा पनि आज प्रकाश सायमीको स्थान एकदम सुरक्षित भएको होला अर्थात त्यो स्थान कसैले भेट्न नसकेको हो जस्तो मलाई लाग्छ । यो कुरा पछिल्लो अनुजहरुले सिक्न एकदम जरुरी छ ।
 सायमीको “बर्सादी दिनहरु” निवन्ध संग्रह पढ्दै गर्दा उहाँको अतित सहज रुपमा नियाली राखेको आभाष पाए । उहाँको निवन्धमा हाम्रो धेरै हस्तिहरुसँग प्रत्यक्ष साक्षात्कार भईरहेको पनि अनुभब हुन्छ । यो निवन्धमा बिशेष गरी भारतको बम्बई देखि नेपालको काँठमाण्डुसम्मको साहित्यिक र सांगीतिक सम्बन्धको बिषयमा चर्चा गरेको पाईन्छ । म्हाकबि एलपी देबकोटा, स्वरसम्राट नारायण गोपाल, गीतकार तथा संगीतकार गोपाल योञ्जन, साहित्यकार धुस्वाः सायमी, उर्दु कबि गालिब, गजलकार गुलजार, भारतिय अभिनेता देवानन्द देखी रितिक रोशन, गायक उदित नारायण, साहित्यकार धु्रबचन्द गौतम जस्तै धेरै ब्यक्तिहरुसँग सायमी दाईको अतितमा घटेको रोचक कुराहरु यो निवन्धमा मैले पढ्न पाए ।

यो निवन्ध पढेर धेरै जनाको अगाडि म गफ हाक्ने भएको छु । जस्तै, “ उदित नारायणले रोएर देवानन्दसँग गीत गाउन चान्स मागेको” कुराहरु आदि आदि । अति नै रोचक लाग्दो निवन्धहरु छन् । यो निवन्ध पढिराख्दा धेरै प्रश्नहरु पनि मनमा आईरहन्छ । मसँग पनि धेरै जिज्ञासाहरु आएका थिए । मिले कुनै दिन उहाँलाई सोध्नुपर्ला भन्ने सोचिरहेको छु । फिल्म निर्देशक र सञ्चारकर्मी पेशाले भएता पनि नेपाली साहित्यमा र संगीतमा यति धेरै ज्ञान भएको ब्यक्ति सायद कमै होलान् । नौ ओटा भन्दा बढि कृति प्रकाशित गरिसक्नुभएका सायमी दाईको मैले हालसम्म ३ ओटा मात्र कृति पढ्न पाए । बाकी पुस्तक म नजन्मिदै पनि प्रकाशित भएको हो जस्तो लाग्यो । अर्थात मैले पढ्न ढिलाई गरे । ति पुस्तकहरु अहिले बजारमा पनि पाइन्न । यसले गर्दा अझ धेरै कुराहरु मैले पढ्न छुटाए । यो आभाष म कहाँ जहिले पनि खट्किरहन्छ । चाहेर पनि पढ्न नपाउने भए सायमी साहबको पुराना पुस्तकहरु । उहाँको एउटा भनाईसँग म धेरै नजिक छु । “बर्सादी दिनहरु” को पृष्ठ ३४ मा लेख्नुभएको छ “पुस्तकले मलाई के दियो म अझै पनि केहि भन्न सक्दिन ।” मैले पुस्तक अध्ययन गरेको धेरै भएको छैन । बढिमा ६ बर्ष भयो ।

पुस्तक अध्ययन एउटा शौख भो मेरो लागि । पुस्तक पढेको देख्दा मलाई मेरो समकालिन मित्रहरुले भन्ने गर्छन् –“यो कति पढन्दास् भको” । यो  सुन्दा मन खिन्न हुन्छ । किनकी म त्यस्तो होइन । किताब पढ्नु एउटा नशा जस्तै होला । नशाको म अनुभबी त खाँसै होइन । “बर्सादी दिनहरु” पढिराख्दा मेरो रुम पार्टनरले यो किताब पढेर तपाईले यसको बार्ेमा पत्रिकामा छपाउने हो ? भनेर प्रश्न गरे । म हाँसे । कहिले काहि स्थानीय पत्रिकाहरुमा मेरो सामान्य लेखहरु प्रकाशित भईराख्छ । त्यहि भएर दोस्तीले त्यो अड्कल काटे । जसरी प्रकाश सायमीले देवानान्दको किताब “रोमान्यासिङ विथ लाइफ” किनेर “मोन्ट ब्लाँ” कलमको हस्ताक्षर लेखकसँग माग्नुभो । मैले पनि प्रकाश सायमीसँग २ पटक हस्ताक्षर मागेको छु । एउटामा उहाँले लेख्नुभएको थियो । “भिन्तुना” । जसको अर्थ मैले बुझेको छैन । अर्कोमा उहाँले लेख्नुभएको थियो । “स्नेही अनुज कुलुङ ज्यूमा सस्नेह प्रकाश” । त्यो निवन्ध पढ्दा मलाई फरक यति लाग्यो प्रकाश सायमीले हस्ताक्षर माग्नेबेलासम्म साहित्य, संगीतको सबथोक जान्नुहुन्थ्यो र मैले उहाँसँग हस्ताक्षर माग्नेबेलामा म भने ति बिषयको काँचै । प्रकाश सायमी जतिको ब्यक्ति हुन सायद मैले दुई जन्म पुरापुर लिनुपर्छ ।

उहाँको स्मरणशक्ति अर्को मुख्य कला हो । मैले दाईलाई सोध्थे–“प्रकाश दाई तपाई कति घण्टा सुत्नुहुन्छ ?” उहाँको सिधा उत्तर मकहाँ तेर्सिन्छ “अनुज कुलुङ भाई म २४ घण्टा नै सुत्छु ।” त्यो त पक्कै होइन । उहाँको अध्ययन गर्ने ठाउँ मलाई टाढादेखि भए नि हेर्न मन छ । उहाँको लाइब्रेरीमा ५ मिनेट भए नि देख्न मन छ । उहाँले पढ्ने पुस्तकहरु स्पर्श गर्ने औधी मन छ । सायद त्यो दिन आउला, नआउला । उहाँले आफ्नै हातले लेख्नुभएको पुस्तक त जम्मा ३ ओटा मात्र अध्ययन गर्न पाए भने संझनुस् उहाँले अध्ययन गर्नुभएको पुस्तक मैले कहाँ स्पर्श गर्न पाउछुहोला । कहाँ पढ्न पाउछु होला । अन्त्यमा मेरो यो गनगनलाई टुंग्याउनुभन्दा अगाडि के भन्छु भने नेपाली साहित्य र संगीतमा लागेको जो पनि ब्यक्तिले एक पटक पटक प्रकाश सायमीलाई पढ्नै पर्छ । यो एउटा ठुलो श्रोत हो । आजकल जो पनि कबि बन्न खोज्छन् । जो पनि गजलकार । जो पनि सिनेमाको नायक । तर वास्तविक कबि, गजलकार, नायक बन्नलाई ठुलो टिप्स प्रकाश सायमी हो । एउटा यथार्थ साहित्यिक र संगीतप्रमी ब्यक्ति बन्नलाई प्रकाश सायमी पढे पुग्छ । बस् मेरो भन्नु यति नै हो । 
–अनुज कुलुङ
रानीपौवा, पोखरा । 
२०६९ माघ १२ गते ।